नियम १३
विज्ञापन प्रकाशन
: (१) पदपूर्ति समितिले पदपूर्तिको लागि विज्ञापन प्रकाशन गर्दा नेपालभर प्रचारप्रसार हुन सक्ने गरी राष्ट्रियस्तरको पत्रिकामा कम्तीमा तीस दिनको म्याद दिई देहायको विषय समेत खुलाई प्रतियोगिताका लागि विज्ञापन प्रकाशन गर्नु पर्नेछ :–
(क) पदको नाम,
(ख) आवश्यक संख्या (खुल्ला र समावेशी अलग अलग देखिने गरी),
(ग) दरखास्त दिने म्याद र स्थान,
(घ) दरखास्त दस्तुर,
(ङ) परीक्षा दस्तुर,
(च) आवश्यक न्यूनतम शैक्षिक योग्यता,
(छ) पेश गर्नुपर्ने आवश्यक प्रमाणपत्रहरू,
(ज) सम्पर्क मिति र स्थान,
(झ) परीक्षाको तरिका,
(ञ) अन्य शर्तहरू ।
(२) उपनियम (१) बमोजिम प्रकाशित विज्ञापनमा उम्मेदवार हुन चाहने व्यक्तिले एउटै पदको समावेशी तथा खुल्लातर्फ दरखास्त दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम दरखास्त पेश गर्ने व्यक्तिले प्रत्येक थप खुल्ला तथा समावेशी समूहको पदका लागि लाग्ने परीक्षा दस्तुरको थप बीस प्रतिशत रकम दस्तुर बुझाउनु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम प्रकाशित विज्ञापनमा उम्मेदवार हुन चाहने व्यक्तिले खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति हुने पदका लागि निर्धारित दरखास्त फाराम भरी परीक्षा दस्तुरसहित विज्ञापनमा तोकिएको स्थान र समयमा बुझाउनु पर्नेछ ।
(५) पदपूर्ति समितिबाट विज्ञापन प्रकाशन भएपछि दरबन्दी थप वा खाली भई पद रिक्त भएमा लिखित परीक्षाको नतिजा प्रकाशन हुनुभन्दा अगाडि सो पदपूर्ति समितिले सार्वजनिक रूपमा सूचना प्रकाशन गरी सोही विज्ञापनमा सो संख्यासमेत थप गर्न सक्नेछ ।